रीमा लेख्छिन् ‘मैले कालो चिया बनाउन सिकेको हो, कालो बम हैन’

तीन हप्ता लामो लकडाउनको समयमा विभिन्न सेलिब्रेटीहरुले खानेकुरामा विभिन्न परिकार पकाउन सिक्दा अभिनेत्री रीमा विश्वकर्माले भने कालो चिया उमाल्न जानेकी छन् । केही दिनअघि फेसबुक लाइभमा उनले आफ्ना प्रशंसकको एक जिज्ञासामा आफूले बल्ल कालो चिया पकाउन सिकेकोमा खुसी व्यक्त गरेकी थिइन् । जसकारण अहिले उनी ट्रोलको शिकार बनेकी छन् ।

काम व्यस्तताले भान्सा छिर्ने समय नहुने बताउँदै उनले भनेकी थिइन्, ‘लकडाउनको समयमा कालो चिया बनाउन सिकेँ । मसँग भान्साको काम गर्ने समय हुँदैन । मेरो कामको प्रकृति नै फरक छ । अब बल्ल पकाउन सिक्दैछु ।’ उनको यो कुरालाई लिएर अहिले सामाजिक सञ्जालमा विभिन्न खाले टिका टिप्पणी भइरहेका छन् । कतिले उनलाई सहरिया हुनुको परिणाम भनेका छन् ।


कालो चिया बनाउन सिकेको कुरालाई सामाजिक सञ्जाल प्रयोगकर्ताले मजाकको विषय बनाएपछि अभिनेत्री विश्वकर्माले शनिवार फेसबुकमा ‘मैले कालो चिया बनाउन सिकेको हो, कालो बम होइन’ भन्दै आक्रोशपूर्ण स्टाटस लेखेकी छन् । उनले कालो चिया बनाउन आएको कुरालाई बम नबनाउन पनि आग्रह गरेकी छन् । उनको यो कुरामा विभिन्न अभिनेत्रीहरुले समर्थन जनाएका छन् ।

उनको स्टाटसमा केकी अधिकारीले ‘नाइस’ भनेर कमेन्ट गरेकी छन् भने ऋचा शर्माले ‘सिक्नु नै ठूलो कुरा हो’ भन्दै रीमालाई हौसला दिएकी छन् । त्यस्तै, सञ्चिता लुईटेलले भान्साको कुरा सिक्नु ठूलो कुरा रहेको बताएकी छन् । ‘छ माया छपक्कै’ निर्देशक दीपेन्द्र लामाले भने ‘उहिलेको जमाना भएको भए कालो चिया बनाउन नसक्नेको बिहे नै हुँदैनथ्यो’ भन्दै व्यंग्य गरेका छन् ।

Add a Comment

Your email address will not be published.