ज्वराे आएर उपचार गराइरहेकी बिरामीकाे भरतपुर अस्पतालमा मृत्यु, स्वाब परीक्षणपछि शव व्यवस्थापन गरिने

चितवन । भरतपुर अस्पतालमा शुक्रबार बिहान मृत्यु भएकी एक युवतीको स्वाब परीक्षण गरिने भएको छ । परीक्षणको नतिजा नआएसम्म मृत शरीरलाई छुट्टै सुरक्षित राखिएको छ । परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौँ पठाइने छ ।

अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार बिहीबार राति सिन्धुली घर भएकी २६ वर्षीया उषाकुमारी राईलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । राति १२ बजे अस्पताल ल्याइएकी राईको सघन उपचारकक्षमा उपचारकै क्रममा शुक्रबार बिहान २ बजे मृत्यु भएको हो । अधिकारीले उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिने बताए ।

युवतीको मृत्युको कारणबारे नतिजा आएपछि थाहा हुने भएकाले उच्च सावधानी अपनाइएको उनले जानकारी दिए । कोरोना भाइरसको त्रास भएकाले ज्वरो आएका बिरामीको उपचारमा विशेष सतर्कता अपनाइएको छ ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार सिन्धुलीको हरिहरपुर गाउँपालिका–२ की राईलाई हेटौँडा अस्पतालले राति थप उपचारका लागि भरतपुर अस्पताल पठाएको हो ।

अस्पतालमा हरेक महिना विभिन्न कारणबाट ५० देखि ५५ जनाको मृत्यु हुने गरेको उनले जानकारी दिए । यद्यपि ज्वरोका बिरामीको उपचारका क्रममा मृत्यु भएमा स्वाब परीक्षण गर्न थालिएको हो ।

Add a Comment

Your email address will not be published.