
आफ्नै बाट हैरान ओली, पुनः मन्त्रीमण्डल पुनर्गठनको तयारी
प्राविधिक रूपमा झण्डै दुई तिहाइ नजिक रहेको वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार आफैंले वा सरकारको नेतृत्व गर्ने व्यक्तिकै निकटकाले गरेको हर्कतका कारण विवादमा पर्नु कुनै नौलो कुरा होइन । अझ प्रधानमन्त्रीकै निकट भनिएका बाट पनि विवादित काम हुने गरेको कुरा पनि अब नौलो रहेन ।
पछिल्लो समय पनि प्रधानमन्त्रीकै निकट रहेका केहि मन्त्री र सल्लाहकारहरूका कारण विवादमा परेसँगै प्रधानमन्त्री ओली आफ्नै भनिएकाहरूबाट हैरान भएका छन् । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि आवश्यक औषधि र स्वास्थ सामाग्री खरिदमा आफूलाई समेत गुमराहमा राखेर अनियमितताको खेल खेलेको भन्दै प्रधानमन्त्री ओली उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल सँग निकै रुष्ट बनेका छन् ।
अर्कोतिर आफ्नै पार्टिका कार्यकारी अध्यक्ष प्रचण्ड सहित भैंसेपाटी गठबन्धनमा सामेल भएका सत्तारूढ नेकपाका शिर्ष नेताहरूले समेत स्वास्थ सामाग्री खरिद प्रकरणमा पार्टीभित्र गम्भीर छलफल हुनुपर्ने र आर्थिक अनियमिततामा जोडिएकामाथि कडा कार्वाही हुनुपर्ने माग सहित पार्टी बैठक बोलाउन दबाब बढेको छ । पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पार्टीको सचिवालय बैठक नबोलाए कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालयले बैठक बोलाउने चेतावनीसमेत दिएको नेकपा उच्च स्रोतले दावी गरेको छ ।
स्वास्थ सामाग्री खरिद प्रकरणमा आफ्नै विश्वासपात्रका कारण आलोचनाको शिकार बनेका प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्नुपर्ने निष्कर्षमा पुगेका छन् । पार्टीभित्रको समीकरणमा अल्पमतमा रहेका ओलीले तत्काल उपप्रधान तथा रक्षामन्त्री पोखरेललाई बर्खास्त गर्न नसक्ने बाध्यतामा रहेका उनले स्वास्थ तथा जनसंख्या मन्त्री ढकाल सहित अन्य केहि आफूनिकटका मन्त्रीलाई हटाएर माधवकुमार नेपाल समूहबाट नयाँमन्त्री नियुक्त गर्ने तयारी थालेका छन् ।
स्वास्थ सामाग्री खरिदको बिषयमा आइतबारको मन्त्रीपरिषद बैठकमा प्रधानमन्त्री ओलीले स्वास्थ सामाग्री खरिद प्रक्रिया किन विवादमा आयो ? भन्दै प्रश्न गर्दा रक्षामन्त्री पोखरेल र स्वास्थ मन्त्री ढकालले कुनै अनियमितता नभएको र सबै काम पारदर्शी ढंगले भएको भन्दै आफ्नो निर्णको बचाउ गरेपछि बुधबार प्रधानमन्त्री ओलीले आफ्नै निवासमा पोखरेल र ढकाललाई बोलाएर उक्त प्रक्रिया रोक्न र ओम्न्नीसँगको खरिद सम्झौता रद्द गर्न र जीटुजी प्रक्रियाबाट स्वास्थ सामाग्री खरिद गर्न निर्देशन दिएका थिए ।
ओलीको उक्त निर्देशन लगत्तै सरकारले कोरोना भाइरस सम्बन्धि औषधि र आवश्यक स्वास्थ उपकरण स्वास्थ मन्त्रालयसँगको परामर्शमा रक्षा मन्त्रालयले नेपाली सेना मार्फत खरिद गर्ने निर्णय गरिसकेको छ । यही प्रकरणका कारण प्रधानमन्त्री ओलीका आइटी विज्ञले सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर एक अनलाइन सञ्चारमाध्यमको साइट नै ह्याक गरि समाचार हटाइदिए पछि प्रधानमन्त्री ओली आफ्नै भनिएकाहरूबाट हैरानिमा रहेको देखिएको छ ।
आलोचना बच्न र पार्टीभित्रको दबाबका कारण पनि छिट्टै मन्त्रीमण्डल पुनर्गठनको तयारीमा लागेको बालुवाटार निकट स्रोतले जनाएको छ । सम्भवत एक दुई दिनमै मन्त्रीमण्डल पुनर्गठनको सम्भावना रहेको स्रोतको भनाइ छ ।