
एसियामा आधा बिरामी निको भए, कम संक्रमण देखिने देशमा नेपाल अन्तिम चौथोमा
April 17, 2020
विश्वव्यापी महामारीबाट विश्वभर एक लाख ३४ हजार बढीको मृत्यु भइसकेको छ भने संक्रमित संख्या २१ लाख नजिक पुगेको छ।
एसियामा पनि संक्रमितको संख्या तीन लाख ३३ हजार नाघेको छ। तर, यस मध्ये आधा बिरामी भने निको भएका छन्। १२ हजारको मृत्यु भएको छ भने एक लाख ६० हजार बिरामी निको भएका छन्।
बिरामी निको बनाउने देशमा चीन अगाडि छ। त्यहाँ ८२ हजार संक्रमित देखिएकोमा ७७ हजार बिरामी निको भएका छन्। एसियन मुलुकहरु मध्ये चीनमा नै संक्रमित बढी देखिएका छन् ।
चीनमा तीन हजार तीन सयको मृत्यु भएको छ। बढी मृत्यु भने इरानमा भएको छ। ७६ हजारमा संक्रमण देखिएकोमा चार हजारको मृत्यु भएको छ। इरानमा पनि बिरामी निको हुने संख्या उच्च छ। इरानमा ४९ हजार बिरामी निको भइसकेका छन् भने २१ हजारको उपचार भइरहेको छ।
अहिले धेरै बिरामी भने टर्कीमा छन्। त्यहाँ ६९ हजारमा संक्रमण देखिएकोमा ६२ हजार बिरामी उपचारत छन्। टर्कीमा १५ सयको मृत्यु भएको छ।
१२ हजार संक्रमित देखिएको भारतमा चार सय बढीको मृत्यु भएको छ। अहिले पनि भारतमा दश हजार बढी बिरामी उपचारत छन्। अर्को मुलुक इजरायलमा पनि १२ हजारमा संक्रमण देखिएको छ। त्यस मध्ये १३० जनाको मृत्यु भएको छ।
दक्षिण कोरियाले भने चीनले जस्तै महामारी लगभग नियन्त्रणमा लिएको छ। १० हजारमा संक्रमण देखिएकोमा दश हजार बढी बिरामी निको भइसकेका छन्।
महामारी देखिएको ४८ देश मध्ये कम संक्रमण हुने देशमा नेपाल अन्तिम चौथोंमा छ। १६ जना संक्रमण देखिएकाे नेपाल भन्दा कम संक्रमण देखिने मुलुकहरुमा टिमोर (८), भुटान (पाँच) र यमन (एक) संक्रमित छन्।
एसियाकै चीनबाट महामारी शुरु भए पनि युरोपेली तथा अमेरिकी मुलुक भन्दा एसिया महामारी रोकथाममा तुलनात्मक सफल छ।