अशक्त सञ्जीवको लामो यात्रा (SHARE गरि निकायसम्म पुरौ)

वैशाख, चितवन । चितवन नारायणगढको दिउँसो दुई बजेको टन्टालापुर घाम । पुल्चोक नजिकैबाट एक युवक लौरो टेकेर कष्टसाथ हिँडिरहेका थिए ।

हिँड्दाहिँड्दै थाकिरहेका उनलाई टुसुक्क बसौँ र एकछिन आराम गरौँ जस्तो भएको थियो । तर, साथीहरूको साथ छुट्ने डर थियो । त्यसैले उनी सकिनसकी हिँडिरहेका थिए ।

उनी बर्दिया राजापुरका सञ्जीव चौधरी रहेछन् । अशक्त सञ्जीवको अन्तिम गन्तव्य थियो सयौं किलोमिटर टाढाको बर्दिया राजापुर । पसिना पुछ्दै सञ्जीवले भने, ‘मेरो शारीरिक अवस्था हेर्दा त दुईसय मिटर हिँड्न सक्ने पनि छैन । मैले तीन पाइलो चाल्दा साथीहरूको एक पाइलो हुन्छ, अनि कसरी पुग्नु बर्दिया ?’

अनि किन निस्कनुभएको त ? हामी प्रश्न भुइँमा खस्न नपाउँदै उनले जवाफ दिए, ‘मर्नुभन्दा बौलाउन निको । जहाँसम्म पुगिएला पुगिएला ।’

उनलाई हिँड्दा खुट्टामा निकै पीडा हुन्छ । ‘हिँड्नै सक्दिन, जति हिँडे पनि एकै ठाउँमा भए जस्तो लाग्छ’ सञ्जीवले दिक्दारी पोख्दै भने, ‘तर, साथीहरूले साथ छाड्दैनौँ, सँगै घर पुर्‍याउने छौँ भनेपछि आँट गरेँ ।’

सञ्जीवसहित सात जनाको समूह मध्यरातको दुई बजे गोरखाको पालुङटारबाट निस्किएको रहेछ । उनीहरूले ठाँटीपोखरीबाट डुम्रेसम्म हिँडेर नै यात्रा गरे । यो करिब १८ किलोमिटर जति छ । उनलाई यतिको बाटो हिँड्न निकै मुश्किल भयो । उनी थुचुक्क भुइँमा बस्थे, सुईय्य सुस्केरा हाल्थे, साथीहरूले तान्दै उठाउथे ।

जसोतसो डुम्रे आए । सञ्जीवका साथीहरूले प्रहरीलाई अनुरोध गरे । उनको शारीरिक अवस्थाका बारेमा बताए । सञ्जीवमा साथी त्रिलोक चौधरीकाअनुसार प्रहरीले नारायणगढसम्म छोडिदिन गाडीलाई भनिदियो । सञ्जीवलाई राहत मिल्यो ।

उनीसँगै एक वृद्ध उमेरका बुबा पनि सोही गाडीमा बसे । तर, अन्य पाँच जनालाई प्रहरीले चढाएन । उनीहरू डुम्रेबाट झण्डै ३ किलोमिटर हिँडेपछि एउटा ट्रकमा चढे र नारायणगढ आए । नारायणगढ आएपछि पुल्चोकसम्म आउन दुई किलोमिटर हिँड्दा सञ्जीवलाई निकै गाह्रो भयो । पुल्चोक आएपछि प्रहरीले दिएको खाजा एक हातमा र अर्को हातमा पानीको बोतल समाते । खाजा खाएपछि केही फुर्ती आएको जस्तो भएको सञ्जीवले सुनाए ।

डेढ महिनाअघि सञ्जीवसहित सात जना बर्दियाबाट पावर हाउसको काम गर्न गोरखा पुगेका थिए । सञ्जीव हेड मिस्त्री हुन् । जम्मा २७ दिन काम गरे । त्यसपछि लकडाउनका कारण काम बन्द भयो । ठेकेदारले थोरैथोरै पैसा दियो र घर जान भन्यो ।

गोरखाको पालुङटार नगरपालिकाले पनि स्थानीयलाई मात्रै राहत बाँड्ने भनेपछि आफूहरूको बिजोग भएको त्रिलोकले सुनाए । ‘बस्ने खाने अवस्था नै भएन’ उनले भने, ‘पैसा पनि सकिन लाग्यो । जे जति छ, त्यसले घरसम्म पुगिएला कि भनेर हिँड्यौँ ।’

नारायणगढबाट भने सञ्जीवसहित सात जनालाई प्रहरीले बुटलव जाने ट्रकमा राखेर पठायो ।

SOURCE:- ONLINEKHABAR.COM

Add a Comment

Your email address will not be published.