प्रचण्ड र माधव नेपालले कोटेश्वरमा बनाए ओलीलाई बालुवाटारबाट लखेट्ने येस्तो ‘प्लान’ !

काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद चर्किरहेका बेला आईतबार वरिष्ठ नेता माधवकुमार नेपालनिकट स्थायी समिति सदस्यको भेला कोटेश्वरमा बस्यो । नेपालसँगै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि त्यहाँ उपस्थित थिए ।

सहभागी नेताले तत्काल स्थायी समिति बैठक बोलाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई कडा दबाब दिन प्रचण्ड र नेपालसमक्ष आग्रह गरेका छन् ।

उनीहरूले वन पैदावर समितिको कार्यालयमा भेला भई पार्टी बैठक बोलाउन, आवश्यक परे त्यही बैठकबाटै प्रधानमन्त्री केपी ओलीको विकल्पसमेत खोजेर जान सुझाएका हुन् ।

त्यसमा अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, भीमप्रसाद आचार्य, भीमबहादुर रावल, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, योगेश भट्टराई, रघुजी पन्त, वेदुराम भुसाल, सुरेन्द्रप्रसाद पाण्डेलगायत नेता सहभागी भएका थिए । कृषिमन्त्री समेत रहेका नेता घनश्याम भुसाल भने अनुपस्थित थिए ।

नेपालले आफूनिकट नेताहरूसँग मात्र पछिल्लो राजनीतिक घटनाक्रमबारे परामर्श गर्न चाहेका थिए । नेताहरूले भने दाहाललाई बोलाउन आग्रह गरेका थिए । प्रचण्ड र नेपालनिकट २० सदस्यले बैशाख १० गते दुवै अध्यक्षलाई पत्र लेखेर स्थायी समिति बैठक बोलाउन माग गरेका थिए । विधानतः एकचौथाइ सदस्यले बैठक माग गरेको १५ दिनभित्र बोलाउनुपर्ने हुन्छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

प्रधानमन्त्री ओलीले पार्टीमा छलफल नगरी मन्त्रिपरिषद् बैठकबाट ठाडो प्रस्तावका रुपमा २ अध्यादेश ल्याएका थिए । चौतर्फी विरोधपछि ओलीले ५ दिनमै दुवै अध्यादेश फिर्तासमेत लिए । पार्टीलाई छल्दै मनोमानी निर्णय गर्दै जाने ओलीको शैलीका कारण नेकपा बदनाम बन्दै गएकाले अब कोटेश्वर भेलाले आक्रामक रुपमा प्रस्तुत हुनुपर्ने निष्कर्ष निकालेको छ ।

अध्यादेश प्रकरणका विषयमा प्रधानमन्त्रीले पार्टी बैठकमा जवाफ दिनुपर्ने उनीहरूको माग छ । ‘बाहिर–बाहिर छलफल गरेर केही हँुदैन । पार्टीभित्रै छलफल गरेर समस्याको समाधान खोज्नुपर्छ । त्यसका लागि बैठक बोलाउन अडान लिनुहोस् भन्ने सुझाव हामीले दिएका छौं,’ स्थायी समिति सदस्य युवराज ज्ञवालीले भने, ‘प्रधानमन्त्री मान्नुहुन्न भने पनि के–के उपाय खोजेर हुन्छ बैठक बोलाउने वातावरण बनाउनुहोस् । छलफल बैठकमै गरौं भन्ने छ ।’

अर्का नेता सुरेन्द्र पाण्डेले पार्टी बैठक छलेर समस्याको समाधान नहुने भएकाले बैठक दबाब बढाउन नै छलफल भएको बताएका छन् । ‘हामीले स्थायी समितिको बैठक बोलाउन भनेका छौं । बैठकबाट भागेर, त्यसलाई छल्न खोजेर कुनै समस्याको समाधान हुँदैन,’ उनले भने, ‘यी सबै काम (अध्यादेश ल्याउनेलगायत) किन गरेको भन्ने हुुनुपर्‍यो । यसका लागि पहल लिनुहोस् ।’

ओली पक्षले भने यसलाई प्रधानमन्त्रीविरुद्धको घेराबन्दीका रूपमा अथ्र्याउन थालेको छ । नेताहरूका आ–आफ्ना अडानका कारण नेकपाभित्रको संघर्ष चर्किंदै जाने संकेत देखिएको छ । प्रधानमन्त्री ओलीले पनि आफूनिकट नेतासँगको परामर्शलाई तीव्र बनाएका छन् । उनले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपा संसदीय दलका उपनेतासमेत रहेका स्थायी समिति सदस्य सुवास नेम्बाङ, प्रदेश ५ का मुख्यमन्त्री तथा स्थायी समिति सदस्य शंकर पोखरेल, विष्णु रिमाललगायत नेता र कानून व्यवसायीसँग बालुवाटारमा छलफल गरे ।

प्रधानमन्त्री दबाब परे स्थायी समिति नबोलाई सचिवालय बैठक भने बोलाउने निष्कर्षमा पुगेका छन् । उनले सम्भवतः सोमवार सचिवालय बैठक बोलाउने संकेत गरेका छन् । सचिवालय बैठकबारे आईतबार प्रचण्डसँग छलफल भएपनि ओलीले अन्तिम समयमा कार्यव्यस्तता देखाएको एक नेताले बताए । स्थायी समिति बोलाएर आफ्नो आलोचनामा नेताहरूलाई उत्रिन दिने पक्षमा ओली देखिँदैनन् ।

‘अध्यादेश फिर्ता लिएर मात्र हँुदैन भन्ने उहाँ (प्रचण्ड–नेपाल पक्ष)हरूको माग हो भने त्यो छलफल सचिवालयमा गरे पनि हुन्छ । अहिले नै स्थायी समिति बोलाउन सकिन्न । प्रधानमन्त्री सचिवालय बैठक बोलाउन तयार हुनुभएको छ,’ ओलीनिकट एक स्थायी समिति सदस्यले भने ।

ओलीले शनिवार प्रचण्ड, नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेललगायत नेतासँग स्थायी समिति बैठक पछि धकेलेर विवाद मत्थर बनाउने योजनामा छलफल गरेका थिए । गौतम र नेपाललाई प्रचण्डसँगको विवादमा मध्यस्थताको भूमिका खेलिदिन ओलीले आग्रह गरेका थिए । दुवै नेताले तत्काल पार्टी बैठक बोलाउन भनेपछि ओलीले थप दबाब महसूस गरेको जनाइएको छ ।

४४ सदस्यीय स्थायी समितिमा प्रचण्ड र नेपाल पक्षका ३२ सदस्य छन् । ओली पक्षमा ईश्वर पोखरेल, किरण गुरुङ, छविलाल विश्वकर्मा, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, विष्णुप्रसाद रिमाल, सत्यनारायण मण्डल, शंकर पोखरेल र सुवासचन्द्र नेम्बाङ मात्रै छन् । महासचिव पौडेल मझधारको भूमिकामा देखिएका छन् । अध्यादेश ल्याउँदा प्रधानमन्त्रीनिकटकै परराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवाली विपक्षमा देखिएका थिए ।

प्रचण्ड–नेपाल पक्ष सचिवालय बैठक बोलाए त्यही बैठकबाट स्थायी समितिको टुंगो लगाएर जाने तयारीमा छन् । प्रदेश ५ का मुख्यमन्त्री पोखरेलले ओलीको प्रतिरक्षा गर्न आइतबार दिनभर राजनीतिक सक्रियता देखाए । उनले बिहान प्रचण्डलाई उनकै निवासमा पुगेर भेट गरेका थिए ।

सिंहदरबारमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, पर्यटनमन्त्री योगेश भट्टराई र कृषिमन्त्री घनश्याम भुसालसँग उनले छलफल गरे । यो छलफल ढकालको पहलमा भएको हो । पूर्व एमाले पक्षका नेताहरुको एकतामा जोड दिने गरी ढकालले भट्टराई र भुसालसँग छलफल गरेको बताइन्छ । प्रधानमन्त्री ओली आईतवारै राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गर्न शीतलनिवास पुगेका थिए ।

Add a Comment

Your email address will not be published.