‘मदन भण्डारी साइकलमा हिँड्नुहुन्थ्यो, श्रीमती १६ करोडको गाडीमा ?’

 

‘मदन भण्डारी साइकलमा हिँड्नुहुन्थ्यो, श्रीमती १६ करोडको गाडीमा ?’

४ असार, काठमाडौं । शीर्षकमा प्रयोग गरिएको वाक्यांश अनलाइनखबरको होइन, प्रधानमन्त्री केपी शर्मा ओलीको बोली हो । जननेता मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मदन भण्डारीको साइकल र उहाँकी धर्मपत्नीले चढ्ने गाडीबारे अप्राशंगिक तुलना गरे ।

पार्टीभित्र ओली गुटका रुपमा जिल्ला तहसम्म सञ्जाल विकसित मदन भण्डारी फाउण्डेसनको संरक्षकका रुपमा प्रधानमन्त्री ओली आइतबारको कार्यक्रममा सहभागी भएका हुन् ।

जननेतालाई सम्झने कार्यक्रममा गुटका नेताहरु मात्र सहभागी थिए, जहाँ मदन भण्डारीबाट सिक्नुपर्ने विषयहरुबारे चर्चा भयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘मदन भण्डारी साइकलमा हिँड्ने गर्नुहुन्थ्यो । अहिलेका नेताहरु, उहाँको श्रीमती १६ करोडको गाडीमा हिँड्ने ?…..अब यो ईष्याभावका कुरा नगरौं ।’

आफ्नै कोखबाट तेस्रोपुस्ताको जन्म हुँदैन : भण्डारी

बालुवाटारमा नेकपा स्थायी कमिटीको बैठकमा प्रयोग भएका कुर्सी/टेबल हटाएर आइतबार दुईवटा बढेमाका सोफा राखिएका थिए । एउटा सोफामा प्रधानमन्त्री केपी शर्मा ओली बसे । समान लहरको अर्को सोफामा राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारी बसिन् । उनले मदन/विद्या भण्डारीकी छोरीका नभएर प्रतिष्ठानको अध्यक्षका रुपमा प्रधानमन्त्रीसँग मञ्च सेयर गरेकी हुन् ।

आफू राष्ट्रपति भएलगत्तै विद्याले अध्यक्ष पद छोरी उषाकिरणलाई हस्तान्तरण गरेकी थिइन् । अहिले जिल्ला तहमा संगठन निर्माण गरेर ‘मिनी पार्टी’का रुपमा हुर्काइएको यस प्रतिष्ठानको नेतृत्व उषाकिरणले नै गर्दै आइरहेकी छन् ।

त्यसो त यसघिको नेकपा केन्द्रीय कमिटीको बैठकमा नेतैपिच्छेका नाममा खोलिएका यस्ता प्रतिष्ठानहरु बन्द गर्नुपर्ने माग केन्द्रीय सदस्यहरुले गरेका थिए । यद्यपि, नेकपाको जारी स्थायी कमिटीको बैठकलाई समय दिन नभ्याएका प्रधानमन्त्री ओलीले आइतबार प्रतिष्ठानको कार्यक्रममा एक घण्टाभन्दा लामो प्रवचन दिए ।

नेताका नाममा खुलेको प्रतिष्ठानको एउटा केन्द्रीय निकायसम्म रहनु स्वाभाविकै भए पनि मदन भण्डारी प्रतिष्ठानले भने जिल्ला तहमा र अहिले स्थानीय तहमा पनि संगठन विस्तार गरिरहेको र त्यसमार्फत जनताको बहुदलीय जनवादको प्रचार गरिरहेको नेताहरु बताउँछन् । जबकि एकीकृत नेकपाले अहिले जबजको साटो ‘जनताको जनवाद’ लाई आफ्नो कार्यदिशा बनाइसकेको छ ।

कार्यक्रममा अध्यक्षतात्मक मन्तव्य दिँदा राष्ट्रपतिपुत्री उषाकिरणले आफ्ना पितालाई उधृत गर्दै एउटा तीतो यथार्थ बोलिन्, ‘कम्युनिस्ट हुनु भनेको विचार र सिद्धान्तबाट निर्देशित हुनु हो ।….जननेताले भन्नुभएको थियो, आफ्नै कोखबाट तेस्रोपुस्ताको जन्म हुँदैन… ।’

Add a Comment

Your email address will not be published.