प्रधानमन्त्री ओलीको विपक्षमा नेकपाका ३१ स्थायी कमिटी सदस्य

प्रधानमन्त्री ओलीको विपक्षमा नेकपाका ३१ स्थायी कमिटी सदस्य

 

१७ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ३१ स्थायी कमिटी सदस्य प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा भेला भएका छन् । र, ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पद छाड्नुपर्ने वरिष्ठ नेताहरुको मागमा आफ्नो समर्थन जनाएका छन् ।

नेकपा स्थायी कमिटीको मंगलबारको बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतमसहित १७ नेताले प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्तिमाथि प्रश्न उठाएका थिए । अध्यक्ष र प्रधानमन्त्री दुबै पद छाड्न आग्रह गरेका थिए ।

ओलीले बुधबार विहान आफू निकटका साथै प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिएका केही स्थायी कमिटी सदस्यहरुलाई बालुवाटारमा बोलाएर आफूमाथि सबैतिरबाट आक्रमण भएको भन्दै सहयोगका लागि आग्रह गरे । यो बैठकमा रामबहादुर थापा बादल, लेखराज भट्ट, मणि थापा र टोपबहादुर रायमाझी, धनश्याम भुसाल र योगेश भट्टराई पनि सहभागी थिए ।

बैठकमा नेताहरुले जारी स्थायी कमिटी बैठक रोकेर अध्यक्ष प्रचण्ड र सचिवालय सदस्यहरुसँग सम्वाद गर्न ओलीलाई सुझाएका थिए ।

लगतै बसेको स्थायी कमिटीको बैठक पनि लीलामणि पोखरेल, मात्रिका यादव, योगेश भट्टराई, मुकुन्द न्यौपाने र नन्दकुमार प्रसाईँ बोलेपछि स्थगित भयो ।

नेपाली कांग्रेसका सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएकाले संसदले शोक प्रस्ताव पारित गर्ने र त्यहाँ सबै सांसद उपस्थित हुने भनेर बैठक स्थगित गरिएको थियो । स्रोतका अनुसार वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भने एक घण्टापछि पुनः बैठक बस्नुपर्ने माग गरेका थिए ।

स्थायी कमिटी स्थगित गरेका नेताहरू साँझ छुट्टै भेला भएका छन् । ललितपुरको झम्सीखेलस्थित एक रेष्टुरेन्टमा भएको भेलामा सचिवलायका सदस्य समेत गरी ३० जना स्थायी कमिटी सदस्य उपस्थिति थिए । स्थायी कमिटी सदस्य एवं पर्यटनमन्त्री योगेश भट्टराईले अर्को कार्यक्रममा जानु परेकाले आउन नसकेको भन्दै बैठकको निर्णयमा सहमति जनाएको स्रोतले अनलाइनखबरलाई बतायो ।

प्रधानमन्त्री ओलीले पार्टीको निर्णय मान्ने तत्परता देखाउनुको साटो बालुवाटारमा गुटको बैठक राखेर चुनौती दिएकाले झम्सीखेल बैठक गर्न बाध्य बनेको माधव नेपाल निकट एक नेताले बताए । उनले भने, ‘प्रधानमन्त्री ओलीले बुधबार बिहानै बालुवाटारमा गुटको अलग्गै बैठक गरेर आफूलाई सहयोग गर्न आग्रह गर्नुभएछ, अध्यक्षले नै गुटबन्दी गरेपछि पार्टी एकता जोगाउन हामी पनि झम्सिखेलमा जुटेका हौं ।’

Add a Comment

Your email address will not be published.