सलह खान लागेको आज तेस्रोदिन भयो, लगातार चार छाक खाएँ कुनै अफ्ठेरो महशुस गरेको छैन

 

सलह खान लागेको आज तेस्रोदिन भयो, लगातार चार छाक खाएँ कुनै अफ्ठेरो महशुस गरेको छैन

सलह खान लागेको आज तेस्रोदिन भयो । लगातार चार छाक खाएको छु । कुनै अफ्ठेरो महशुस गरेको छैन । खाएको केही समय पेट अरिलो हुन्छ । टन्न अघाएको महशुस गराउँछ ।

धेरैले यसको स्वादका बारेमा जिज्ञासा राख्नुभएको छ । यस्तै हुन्छ भन्न सकिँदैन । धाने फट्याँग्रा खाएकालाई त्यति तिख्खर लाग्दैन । त्यसको पनि स्वाद नचाखेकालाई भन्न सकिन्छ, यो गन्धहिन हुन्छ । नमिठो स्वाद छैन । अमिलो पिरो वा कुनै प्रकारको नराम्रो स्वाद हुन्न ।

नेपालमा प्रवेश गरेको दिन देखिनै स्वास्थ्य क्षेत्रका विज्ञहरुले सलहमा अत्याधिक प्रोटिन र कार्वोहाइडेड पाइन्छ भन्नुभयो । मान्छेले खाँदा स्वास्थ्यका लागि राम्रो हुन्छ भन्ने उहाँहरुको भनाईले मलाई निकै उर्जा दियोे ।

आयो भने जसरी पनि खान्छु भन्ने मानसिकता बनाएँ । मलाई जात धर्मका कारणले कुनैपनि मासु खान अहिलेसम्म रोकेको छैन ।

नभन्दै आफ्नै घर क्षेत्रका बारीमा आएर सलह बसेको रहेछ । मैले खाने हो भनेपछि घरमा छोपेर राखेछन । अफिसबाट फर्किदै गर्दा बाटोमा कसकसको घरमा छ भनेर खोज्दै गएँ ।

साली विमलाको घरमा पाकेको रहेछ । त्यही खाएँ । अनि घरमा गएको भर्खरै पखेटा केलाउँदै रहेछन ।

त्यतिबेर पनि पर्खिन सकिन, कपडा बदलेर फेरि सालीकै घरमा पुगेर धेरै वटा सलह कपाकप खाएँ । कुनै खास स्वाद नभएर पनि हुन सक्छ धेरैवटा खाँदा पनि धित मरेन ।

त्यसपछि नजिकै छिमेकी सुशीलाको घरमा गएँ । त्यहाँ पनि भर्खर फ्राई गरेर उतारेको फेला पारेँ । खानुस भन्नुभयो । फोटो खिच्दै खाएँ । त्यहाँ खाने अलि धेरैजना थियौ । केहीले खान डर मानेका थिए ।

तातो पानीमा डुबाउने, त्यसका बाहिरको ठुला पखेटा फाल्ने, मरमसला लगाउने र तेलमा तोरर पकाउन अलि ढिलै हुन्छ । दुई घरमा खाएर आउँदासम्म पनि आफ्नो घरमा तयार भएको रहेन छ । फेरी गाउँतिर निस्किएँ । अर्को छिमेकी हिमालको घरमा गएँ । त्यहाँ अमिलो हालेर सलह पकाएछन ।

खास्सै पाकेन छ । खाँदा अलि क्याच क्याच जस्तो भयो । चपाउन पनि मुश्कील भयोे । चाम्रो मानेर केही खोस्टा निल्न नसकी चपाई चपाई रस निलेर थुकेँ ।

त्यसपछि घर गएँ । श्रीमति (सम्झना) ले मसला हालेर मज्जाले फ्राई गर्नुभयो । ठ्याक्कै पाक्दै थियो । निकालेर झुरुम झुरुम खाईयो । छोरी (विजया) ले दुई तीनवटा मात्रै खाईन । साढुदाई (लालबहादुर पुन)ले अलिकति खानुभयो ।

Add a Comment

Your email address will not be published.